काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै उहाँले भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ भने अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। यस्तो अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुका साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित र व्यवस्थित गर्ने तथा प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गरेका हुन् । मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।
उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो ।