काठमाडौं । आगामी दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। साना दरका नोट साट्न बैंकका काउन्टरमा लाग्ने भीड कम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न बैंकहरूलाई आग्रह गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेको छ। पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।
हाल अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ। तर चाडपर्वका बेला सर्वसाधारणलाई साना दरका नोट आवश्यक पर्ने भएकाले १०० रुपैयाँका नोट पनि एटीएमबाटै निकाल्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार यसको मुख्य उद्देश्य सानो रकमका लागि पनि बैंकको काउन्टरसम्म जानुपर्ने बाध्यता हटाउनु हो। १०० रुपैयाँको नोट आवश्यक पर्ने ग्राहकले एटीएमबाटै रकम निकाल्न सक्ने व्यवस्था भए बैंकमा हुने भीडसमेत घट्ने अपेक्षा गरिएको छ।
सबै एटीएममा भने सम्भव नहुने
बैंकरका अनुसार सबै एटीएममा एकैपटक १०० रुपैयाँका नोट राखेर वितरण गर्न भने सम्भव छैन। पुरानो मोडलका एटीएममा दुईवटा मात्र नोट राख्ने ठाउँ हुने भएकाले अहिले ५०० र १ हजार रुपैयाँका नोट राखिँदै आएको छ।
नयाँ मोडलका एटीएममा भने चारवटा दरका नोट राख्न मिल्ने क्षमता हुन्छ। त्यस्ता एटीएममा हाल दुईवटा मात्र नोट राखेर सञ्चालन गरिएकाले थप एउटा स्थानमा १०० रुपैयाँका नोट राख्न सकिने बैंकरहरू बताउँछन्।
बैंकरका अनुसार अहिले सञ्चालनमा रहेका एटीएममध्ये करिब २५ प्रतिशत नयाँ मोडलका छन्। ती एटीएममा १०० रुपैयाँका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन प्राविधिक रूपमा सम्भव छ।
दशैंमा साना नोटको माग बढ्ने
दशैं, तिहारलगायत चाडपर्वमा नयाँ नोट तथा साना दरका नोटको माग बढ्ने गर्छ। सर्वसाधारणले दक्षिणा, पूजालगायत विभिन्न प्रयोजनका लागि १०० रुपैयाँका नोट बढी प्रयोग गर्ने भएकाले बैंकका काउन्टरमा साना दरका नोट साट्नेको भीड बढ्ने गरेको छ।
राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँका नोट वितरण गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेपछि नयाँ एटीएम भएका बैंकमा यस्तो सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले भने सबै एटीएममा अनिवार्य रूपमा १०० रुपैयाँका नोट राख्नुपर्नेभन्दा पनि प्राविधिक रूपमा सम्भव रहेका एटीएममा यस्तो सुविधा उपलब्ध गराउन जोड दिएको छ।