काठमाडौं। नेपाल एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। सामान्य लक्ष्य पाए पनि नेपाली बलरसामु ओमानका ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ र जितेन रामानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।
सन्दीपले ६ ओभरमा एक मेडन राख्दै ९ रन मात्र खर्चिए। दीपेन्द्रले पनि ६ ओभरमा ११ रन दिए। ललितले पाँच ओभरमा दुई मेडनसहित १२ रन खर्चिए भने रोहितले ४.१ ओभरमा एक मेडनसहित सात रन दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालको माथिल्लो क्रम फेरि कमजोर देखिएपछि दीपेन्द्र र बसिर अहमदले पारी सम्हालेका थिए।
नेपालले ३६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। ओपनर आसिफ शेख ११, देव खनाल १३, ईशान पाण्डे एक र रोहित पौडेल तीन रनमा आउट भएका थिए।
त्यसपछि पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्रले ७६ बलमा चार चौकासहित ५१ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०औँ अर्धशतक हो।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका बसिरले ८८ बलमा तीन चौका र एक छक्कासहित ४७ रन बनाए। अर्जुन कुमालको स्थानमा टोलीमा परेका बसिरले महत्वपूर्ण समयमा ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए।
दीपेन्द्र र बसिर छोटो अन्तरमा आउट भएपछि भने नेपालको पारी फेरि धराशायी बनेको थियो। गुलशन झा सात, करण केसी पाँच र कप्तान सन्दीप लामिछाने तीन रनमा आउट भए। शेर मल्ल र ललित राजवंशीले खाता खोल्न सकेनन्।
ओमानका जय ओडेडारा र हसनैन शाहले तीन–तीन विकेट लिए। मुहम्मद इमरानले दुई तथा मुजीबुर अली र शकिल अहमदले एक–एक विकेट लिए।
नेपालले अब शनिबार हुने फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा यूएईले हङकङलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।
आगामी एसिया कपमा आयोजक बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन्। प्रिमियर कपको विजेताले छैटौँ टोलीका रूपमा एसिया कपमा स्थान बनाउनेछ।