टाटाको पन्च बन्यो अगस्टमा भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

0 Shares

काठमाडौं । अगस्ट २०२६ मा भारतमा सर्वाधिक बिक्री हुने शीर्ष १० कारहरुमा टाटाको पन्च पहिलो स्थानमा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वागन आर र स्विफ्टलाई पछि पार्दै टाटा पञ्चले पहिलो स्थान कब्जा गरेको हो ।

अगस्ट २०२६ मा भारतको प्यासेन्जर भेहिकल (यात्रुवाहक गाडी) बजारले हरेक वर्ष नयाँ उचाई लिइरहेको छ । जसमा शीर्ष १० सर्वाधिक बिक्री हुने कारहरूमध्ये नौ वटाले बिक्री परिमाण (भोल्युम) मा वृद्धि हासिल गरेका छन् ।

अगस्ट महिनामा टाटा पञ्च भारतको सबैभन्दा बढी बिक्री हुने कारको रूपमा उदाउँदै गर्दा मारुती सुजुकीका स्थापित मोडलहरू — वागन आर, स्विफ्ट र फ्रोङ्क्सलाई पछि पारेको छ ।

शीर्ष १० मोडलहरूले अगस्ट २०२६ मा कुल १ लाख ८३ हजार ३७ युनिट गाडी बिक्री गरेका छन् । गत वर्ष २०२५ को अगस्टमा १ लाख ३७ हजार ३३४ युनिटको तुलनामा यो वर्ष गाडीहरुको बिक्री झण्डै ३३ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

शीर्ष १० मा आफ्ना ६ वटा मोडलहरू समावेश गर्दै मारुती सुजुकीले वर्चस्व कायम गरेको छ भने टाटा मोटर्सले दुई मोडल सहित दोस्रो स्थान सुरक्षित गर्दा हुन्डाई र महिन्द्राका एक एक मोडल समावेश छन् ।

कुन कार कति बिक्री भए ? शीर्ष १० मोडलको बिक्री अवस्था यस्तो छ ।

Screenshot

गत वर्षको अगस्ट महिनामा कुल १० हजार ७०४ युनिट बिक्री भएको टाटाको पन्च २०२६ को अस्टमा २१ हजार ३२० युनिट बिक्री भएसँगै अगस्ट २०२६ मा भारतको सर्वोत्कृष्ट बिक्री हुने कार बन्यो । गत वर्षको सोही महिनाको तुलनामा यस वर्षको अस्टमा पन्चको बिक्री झण्डै दोब्बर अर्थात शतप्रतिशतले बढेको हो ।

२० हजार १८० युनिट गाडी बिक्रीसँगै वागन आरले अस्ट महिनाको भारतीय बजारमा दोस्रो स्थान हासिल गरेको छ । गत वर्षको अगस्टमा १४ हजार ५५२ युनिट बिक्री भएको यो गाडीको बजार ३९ प्रतिशतले बिस्तार भएको हो ।

त्यसैगरी १८ हजार ८३२ युनिट गाडी बिक्री गर्दै मारुती सुजुकी स्विफ्ट तेस्रो स्थानमा रहेको छ । गत वर्षको अस्टमा यो गाडीको बिक्री संख्या १२ हजार ३८५ युनिट थियो । समीक्षा अवधिमा यो गाडीको बिक्री ६० प्रतिशतले बढेको हो ।

मारुती सुजुकी फ्रोङ्क्सले गत वर्षको अगस्टको १२ हजार ४२२ युनिट गाडी बिक्रीको आँकडालाई यो वर्षको अगस्टमा १८ हजार ७३० युनिटका साथ चौथो स्थानमा उभ्याएको छ । समीक्षा अवधिमा यो गाडीको बिक्री ५१ प्रतिशतले बढेको हो ।

अर्टिगा मोडलको गाडीको गत वर्षको अगस्टको बिक्री संख्या १८ हजार ४४५ बाट १८ हजार ५१६ युनिट पुग्दा पाँचौं स्थानमा परेको छ ।

टाटा नेक्सोन १८ हजार ४३१ युनिट बिक्री सहित छैठौं स्थानमा रहेको छ । गत वर्षको यसै महिनामा नेक्सनको बिक्री संख्या १४ हजार ४ थियो । टाटा मोटर्सले शीर्ष १० पन्च पछि नेक्सनलाई दोस्रो एसयुभीका रुपमा बजार हिस्सा ओगटेको हो । पञ्च र नेक्सन गरी टाटाका दुई मोडलहरूले मात्र २०२६ को अगस्टमा ३९ हजार ७५१ युनिट गाडी बिक्री गरेका छन् । टाटाका दुवै उत्पादनले गत वर्षको अगस्टको बिक्रीमा यस पटक दोहोरो अङ्कको बढोत्तरी देखाएका हुन् ।

सातौं स्थानमा रहेको डिजायर मोडलको कार १८ हजार ४१८ युनिट बिक्रीका साथ भारतको सर्वाधिक बिक्री हुने सेडानको रूपमा स्थापित भएको छ । अगस्ट २०२५ मा १६ हजार ५०९ युनिट बिक्री भएको यो गाडीको बिक्री यस पटक १२ प्रतिशतले बढेको हो ।

आठौं स्थानमा रहेको हुन्डाई क्रेटा १६ हजार २८८ युनिट बिक्री भएका छन् । अगस्ट २०२६ को शीर्ष १० वरीयतामा पर्ने हुन्डाईको यो नै एकमात्र मोडल बनेको छ । गत वर्षको अगस्टमा १५ हजार ९२४ युनिटको तुलनामा २ प्रतिशतको सामान्य वृद्धि हो ।

नवौं स्थानमा रहेको बलेनो अगस्ट २०२६ मा १५ हजार ७४६ युनिट बिक्री भएको छ । गत वर्षको सोही महिनामा १२ हजार ५४९ युनिट बिक्री भएको यो गाडीले २५ प्रतिशतले बिक्री संख्या बढाएको हो ।

महिन्द्रा स्कोर्पियाले १५ हजार ५७६ युनिट बिक्रीका साथ शीर्ष १० को सूचीमा आफुलाई अटाएको छ गत वर्षको अगस्टमा ९ हजार ८४० युनिट बिक्री भएको यो गाडीको बिक्री परिमाण ५८ प्रतिशतले बढेको हो ।

शीर्ष १० मा ६ वटा मोडलका साथ मारुती सुजुकीको वर्चस्व

तथ्यांक अनुसार अगस्ट २०२६ मा सर्वाधिक बिक्री हुने १० कारहरूमध्ये ६ वटा मारुती सुजुकीका परेका छन् । जसमा वागन आर, स्विफ्ट, फ्रोङ्क्स, अर्टिगा, डिजायर र बलेनो रहेका छन् । यी ६ मोडलहरूको कुल १ लाख ११ हजार ४२२ युनिट गाडी बिक्री भएका छन् । यो भनेको अगस्ट महिनाको शीर्ष १० को कुल बिक्री परिमाणको करिब ६१ प्रतिशत हो ।

यद्यपि, समग्र शीर्ष स्थानमा भने टाटा मोटर्सले दबदबा कायम गरेको छ । टाटाको पन्चले मारुती सुजुकीका प्रत्येक मोडललाई पछि पारेको छ भने टाटाको नेक्सन छैटौँ स्थानमा छ । दुवै मोडलका गरी ३९ हजार ७५१ युनिट गाडी बिक्री भएका छन् ।

नेपाली बजारमा पनि टाटाको पन्चको माग अधिक रहेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार बजारमा पन्चको माग अनुसार समयमा नै गाडी उपलब्ध गराउन नसकिने अवस्था आउने हो कि भन्ने छ ।

बाढी पहिरोका कारण उत्पन्न असहज परिस्थितीमा टाटाको मात्र नभई समग्र आयात संकुचित भइरहेका बेला गाडीको उपलब्धता केही हदसम्म प्रभावित हुन सक्ने अवस्था छ । सिप्रदीले टाटाका पन्च र नेक्सनमा उपभोक्ताको अधिक आकर्षले आफुहरुलाई उत्साहित बनाएको प्रतिकृया दिएको छ ।

सम्बन्धित समाचार