भोटेकोशी बाढीपीडितलाई सिटिजन्स बैंकको दुई करोड २२ लाख सहयोग

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि दुई करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरे।

रकम हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतको उपस्थिति थियो।

बैंकले बाढीबाट ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी प्रभावित नागरिकको उद्धार, उपचार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।

गत भदौ १० गते आएको भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यसका बाबजुद बैंकले तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका प्रभावित परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरेको छ।

बैंकले चामल, दाल, पिठो, बिस्कुट, खानेतेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। बैंकले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलाई पनि आर्थिक सहयोग प्रदान गर्दै आएको जनाएको छ। यस्ता सामाजिक तथा मानवीय सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बैंकको प्रतिबद्धता छ।

‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ।

बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार