मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारण सभा सम्पन्न, विद्युतको १३ प्रतिशत कर हटाउन माग

0 Shares

काठमाडौं । मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका सचिव मीनराज ओलीले कार्यक्रमको सञ्चालन गरेका थिए। संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कविराज ओलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले गरेका थिए ।

प्रमुख अतिथि ओलीले आमनागरिकका लागि स्वच्छ तथा सुरक्षित पिउने पानी मानव जीवनको मौलिक अधिकार भएको बताउँदै खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिए ।

यस्तै, उनले आमनागरिकले आफ्नो मेहनतबाट कमाएको रकमबाट सञ्चालन तथा संरक्षण गर्दै आएका खानेपानी उपभोक्ता संस्थामाथि विद्युतमा १३ प्रतिशत कर लगाएर जनतालाई थप आर्थिक भार परेको बताउँदै खारेज गर्न माग गरे ।

त्यसैगरी, विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटनसम्बन्धी व्यवस्था राखिनु जनताले आफ्नै पहल र लगानीमा सञ्चालन गरेका खानेपानी संस्थाको अधिकारमाथि हस्तक्षेप भएको उनको भनाइ थियो । जनताको सहभागिता र लगानीमा सञ्चालित खानेपानी संस्थालाई संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

साधारण सभामा संस्थाका सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो । विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार