काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको आफ्नो वित्तीय अवस्था सार्वजनिक गरेको छ । जसअनुसार बैंक ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा निकाल्न सफल भएको छ । बैंकको लेखापरीक्षित वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८.०१ प्रतिशत बढी हो ।
अघिल्लो वर्ष बैंकको खुद नाफा जम्मा २ अर्ब ५७ करोड रुपैयाँ थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)समेत बढेको छ । योसँगै बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ईपीएस १८ रुपैयाँ ९४ पैसा मात्रै थियो ।
त्यस्तै, बैंकको इक्विटीमा प्रतिफल (आरओई) १४.३९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको प्रतिफल ११.७० प्रतिशत रहेको थियो । बैंकको वितरण योग्य नाफामा समेत सुधार भएको छ । प्रतिसेयर वितरण योग्य नाफा २० रुपैयाँ ८६ पैसा पुगेको छ ।
बैंकले समीक्षा अवधिमा कर्जा तथा निक्षेप दुवैतर्फ दोहोरो अंकको वृद्धि गरेको छ । बैंकको कुल कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सम्पत्तिको गुणस्तरमा सुधार हुँदा बैंकको कुल खराब कर्जा (ग्रस एनपीए) २.८७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ग्रस एनपीए ३.०१ प्रतिशत रहेको थियो ।
यसैगरी बैंकले पुँजी पर्याप्तताको अवस्थामा पनि बलियो स्थिति कायम राखेको छ । बैंकको टियर १ पुँजी पर्याप्तता अनुपात १०.१७ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत रहेको छ । यसले बैंकको व्यवसाय विस्तार तथा सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक पुँजीगत आधार तुलनात्मक रूपमा सुदृढ रहेको देखाउँछ ।
नाफा र वितरणयोग्य नाफामा भएको सुधारसँगै बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव पेश गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।