काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग गरेको छ ।
सिटिजन लिडर्स, कर्मचारी तथा कम्पनीको सामूहिक योगदानमार्फत रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने साझा प्रयासस्वरुप सहयोग प्रदान गरेको हो ।
कम्पनीले विपद्को यस कठिन घडीमा सबै एकसाथ रहेको बताएको छ ।
हालै भोटेकोशीसँगै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै कयौं मानिसहरू हराईरहेका र अझै पनि उद्धार एवं राहतको पर्खाईमा रहेका छन् । बाढीबाट प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो ।
अकल्पनीय विपदका कारण ज्यान गुमाउन विवश स्वदेशी एवं विदेशी नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै इन्स्योरेन्सले बेपत्ता एवं घाइतेको शिघ्र उद्धार एवं उपचारको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।