काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो ।

नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २३ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्थाहरू तथा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो ।

शोको मुख्य आकर्षण नयाँ मोडलका चारपाँग्रे तथा दुईपाँग्रे सवारीसाधन बने । विभिन्न ब्राण्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरे । विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने ।

अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए ।

यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना गरिएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो । यस्तो अवस्थामा पनि अटो शो निरन्तरता पाउनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ ।




