काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ ।
प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन् । विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए ।
यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन् । विभिन्न मूल्य वर्गका सवारीसाधनबीच मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय तथा वारेन्टीका आधारमा प्रतिस्पर्धा तीव्र देखिएको छ ।
अटो शोमा नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी–२ विद्युतीय स्कुटरको उपस्थितिले भने आयातित ब्रान्डबीचको प्रतिस्पर्धासँगै स्वदेशी विद्युतीय सवारीसाधनको सम्भावनालाई समेत चर्चामा ल्याएको छ । पी–२ तीनवटा भेरियन्टमा उपलब्ध छ ।
अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन्। एमएडब्लू वृद्धि मोटर्सले चिनियाँ सवारी उत्पादक डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ । त्यस्तै, सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी सार्वजनिक गरेको छ ।
एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो सार्वजनिक गरेको छ भने एलआरआर मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलको बीई ११ विभिन्न मूल्य र ब्याट्री विकल्पसहित बजारमा ल्याएको छ । यसैगरी, सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्री सुरु गरेको छ ।
अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन् भने ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण तथा सेवासमेत राखिएका छन् ।