पशुपतिनाथमा विशेष पूजा सम्पन्न

0 Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोकेअनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।

चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

चान्द्रमासअनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन अहिले पनि लाममा बसेका छन् । बोल बम यात्री बिहान २ बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान ४ बजेदेखि मात्र खोलिएको थियो ।

सौरमास अनुसारका चार सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ बजे मात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताए ।

सौरमासअनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।

सम्बन्धित समाचार