काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच गृह मन्त्रालयमा तीनबुँदे सहमति भएको छ । सहमति भएसँगै पीडित पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरी बालिकाको शव बुझेर अन्तिम संस्कार गर्न तयार भएको छ ।
गृह मन्त्रालयमा शनिबार दिउँसोदेखि मध्यरातसम्म चलेको उच्चस्तरीय वार्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, गृहमन्त्री सुदन गुरुङ र कृषिमन्त्री गीता चौधरीको उपस्थितिमा सो सहमति जुटेको हो ।
सहमति भएका मुख्य बुँदाहरू:
-‘गरिमा न्याय निरूपण समिति’ गठन: बलात्कार र जघन्य अपराधका घटनामा संलग्न दोषीलाई थप कडा कानुनी सजाय सुनिश्चित गर्न र विद्यमान कानुन संशोधनको सुझाव दिन ७ दिनभित्र ७ सदस्यीय समिति गठन गरिनेछ ।
-स्मारक शालिक निर्माण: मृतक बालिका गरिमा चौधरीको सम्झनामा सिमरामा एक स्मारक शालिक निर्माण गरिनेछ ।
-अन्तिम संस्कार: सहमतिपश्चात् पीडित परिवारले आफ्नै परम्परा र संस्कृतिअनुसार बालिकाको अन्तिम संस्कार सम्पन्न गर्नेछन् ।
भदौ १ गते सुकुम्बासी बस्तीबाट हराएकी अबोध बालिका गरिमाको शव दुई दिनपछि फेला परेको थियो । प्रहरीले मुख्य अभियुक्त सुमन थापासहित शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ । दोषीलाई हदैसम्मको सजाय र कानुनी प्वालहरू सच्याउने सरकारी प्रतिबद्धतापछि सिमरामा जारी आन्दोलन स्थगित भएको छ ।