काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछन्।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलो भेटवार्ता गर्नेछन्। त्यसपछि उनले नेपालका लागि चिनियाँ राजदूतसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नु उनको कूटनीतिक कार्यशैलीमा आएको परिवर्तनका रूपमा हेरिएको छ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले सुरुवाती चरणमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटवार्तालाई प्राथमिकता दिएका थिए। वैशाख ७ गते उनले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेका थिए।
त्यतिबेला व्यक्तिगत रूपमा राजदूतसँग भेटवार्ता नगर्ने नीति लिइएको बताइएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री शाहले कूटनीतिक भेटवार्ताको शैली परिवर्तन गरेका छन्।
यसअघि असार २२ गते उनले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग समेत एक्लाएक्लै द्विपक्षीय भेटवार्ता गरेका थिए।