हर्क साम्पाङले चेतावनी दिँदै भने– गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

0 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे अभिव्यक्तिका कारण भाइरल भइरहन्छन् । संसद्मा केही ओजनदार कुरा राख्ने उनी सामाजिक सञ्जालमा भने अनेक विवादित टिप्पणी गरिरहँदा आलोचना र विरोधको केन्द्र भइरहन्छन्।

उनी अहिले झापाको दमकमा पुगेका छन् । त्यहाँ उनले श्रम संस्कृतिका नेता(कार्यकर्तालाई सम्बोधनका क्रममा पार्टीको गीत सबैले कण्ठ पार्नै पर्ने नयाँ नियम सुनाए । ‘दमकले सुनुञ्जेल पार्टी सदस्यहरूले यो गीत गाउनु र गुञ्जाउनुपर्छ । गीत गाउन आएन भने म केन्द्रीय सदस्यहरूलाई पनि निकालिदिन्छु’, उनले भने, ‘म केन्द्रीय सदस्यहरूको परीक्षा लिन्छु म । यदि गीत गाउन आएन भने पार्टीबाट आउट ’ हर्कले दमकमा आयोजित कार्यक्रममा श्रमसंस्कृति पार्टीले आफ्नो प्रमुख गान बनाएको ‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई’ भन्ने गीत गाएर अरूलाई पनि गुञ्जाउन लगाए ।

‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई, देश आफैं बन्छ भने म पनि हात बाँधेर बस्छु । तर देश आफैं बन्दैन’, उनले भने, ‘श्रमसंस्कृतिमा आवद्ध सबैजना श्रमदाताले पार्टीको यो गीत कण्ठ पारेको हुनुपर्छ। यदि यो गीत आएन भने आउट, हर्क साम्पाङले भनेपछि सकियो।’

उनले अब देशमा पार्टीको यही गीतले हो परिवर्तन ल्याउने पनि दाबी गरे । ‘गीतैले गर्छ, यसले नै देशमा परिवर्तन ल्याउँछ। श्रम गर्न जाँगर आउनुपर्‍यो नि । गीत भनेको पेट्रोल जस्तो हो क्या’, उनले भने, ‘श्रम गर्ने जाँगर बढाउन पनि यो गीत सबैले गाउनै पर्छ।’

सम्बन्धित समाचार