काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस नेता कमलबहादुर शाहले बहुमत गुमाएर अल्पमतमा हुँदा समेत राजीनामा दिएका छैनन् । सत्ता साझेदारी दल नेकपा एमालेले साथ छाडेर अल्पमतमा हुँदा पनि उनी सत्ता नछाड्ने अड्डी कसेका हुन् ।
मुख्यमन्त्री शाह विंं.सं. २०८१ साउन २० गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नियुक्त भएलगत्तै उनको मन्त्री मण्डलमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री भएका थिए । सत्ता सञ्चालनमा खटपट भएपछि आर्थिक वर्ष २०८३/२०८४ सालको बजेट ल्याउन एमालेले असहयोग गरेको भन्दै गत असार ३१ गते एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई बर्खास्त गरेका थिए ।
आफ्नो पद जोगाउन शाहले पार्टी सभापति गगन थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग साझेदारी गर्न दबाब बढाएका थिए । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति थापाबिच प्रदेश सरकारमा साझेदारी गर्न सहमति नभएपछि एमालेसँग नेकपाले सम्झौता गरेको हो ।
एमाले र नेकपाबिच भएको सम्झौताबमोजिम सुुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाका संसदीय दलका नेता खगराज भट्टले लिने सहमति भइसकेको छ । तर, मुख्यमन्त्री शाहले राजीनामा नदिँदा नयाँ सरकार गठन हुुन सकेकोे छैन । प्रदेश सरकारको बजेटसमेत आउन नसक्दा आर्थिक गतिविधिको कामसमेत बन्धक बनेको छ ।
प्रदेश सभामा कुल ५२ सिटमध्ये मुख्यमन्त्री शाहको पार्टी कांग्रेससँग कुल १८ सिट मात्रै छ । नेकपाको २२ सिट हुँदा एमालेसँग ११ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १ सिटले समेत साथ छाडिसकेको छ । मुख्यमन्त्री शाह अलमतमा हुँदा समेत सरकार बन्न नदिएर अप्ठ्यारो पारेको नेकपा एक सांसदले बताए ।
‘मुख्यमन्त्री शाहले राजीनामा नदिएर गाह्रो पार्नु भएको छ, विश्वासको मत लिएर पद जोगिने अवस्था छैन, अरु दलले साथ दिने अवस्था छैन,’ ती सांसदले भने, ‘यत्तिकै सरकार बन्न नदिएर अड्काउनुु भएको छ, हामी आफैँले अविश्वासको प्रस्ताव संसदमा लग्ने सक्ने अवस्था छैन, उहाँले विश्वासको मत लिएको २ वर्ष साउन २० गते पुग्दै छ ।’ अब साउन २० गतेसम्म पर्खेर त्यसपछि मुख्यमन्त्री शाहलाई हटाउन अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउने ती सांसदले भनाइ थियो ।
नयाँ सरकारको नेतृत्व नेकपा संसदीय दलका नेता खगराज भट्ट हुुने सवालमा गठबन्धन एक ढिक्का देखिएको छ । एमाले र नेकपा सबै सांसदहरुले उनलाई मानेर सरकारमा जान तयार भएका छन् । शाहले पार्टी र आफूूलाई क्षति हुने गरी राजीनामा नदिएर प्रदेश सभालाई बन्धक बनाएको गठबन्धनका नेताहरुले बताएका छन् ।
गठबन्धनको समझदारीबमोजिम कर्णली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुुर शाही नेकपाबाट मुख्यमन्त्री भइसकेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने एमालेले प्रष्ट बनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की हटाएर एमालेले अर्का नेतालाई अघि सारेको छ । पार्टीभित्रै एक मत नहुँदा समझदारी बनिसकेको छैन । गण्डकी र मधेस प्रदेशमा अन्य दलसँग सहमति गरेर नयाँ सरकार गठन गर्ने एमाले र नेकपाले समझदारी गरेका छन् । जसका कारण पुरानै गठबन्धनअनुसार सरकार चलेको छ ।