काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल-न्यू निसान टेकटन नेपालमा पहिलोपटक सार्वजनिक हुने भएको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत निसान टेकटन सार्वजनिक गर्न लागिएको हो। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ।
विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको यो निसानको नयाँ प्रिमियम एसयूभी हो। यसले कम्पनीको एसयूभी लाइनअपमा महत्वपूर्ण थपको रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित टेकटनले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
निसान पेट्रोलबाट प्रेरित टेकटनले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर सी-आकारका एलईडी हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्सले यसलाई जहाँ पुगे पनि सबैको ध्यान आकर्षित गर्ने एसयूभी बनाएको छ।
टेकटनमा १०० प्रतिशत टर्बोचार्ज्ड टर्बो टी१६० पावरट्रेन उपलब्ध रहेको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट एक्सेलेरेशन तथा इन्धन दक्षता प्रदान गर्दछ। फराकिलो केबिन, उत्कृष्ट बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज बनाउने व्यावहारिक सुविधाले यसलाई पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त एसयूभी बनाएको छ।
सुरक्षाका दृष्टिले पनि टेकटन अत्याधुनिक प्रविधिले सुसज्जित रहेको छ। यसमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च-शक्तिको स्टिल बडी स्ट्रक्चर तथा अड्याप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६०-डिग्री क्यामेरा प्रणाली लगायतका उन्नत एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम्स (एड्यास) समावेश गरिएका छन्।
त्यसैगरी, गुगल बिल्ट इन प्रविधिको माध्यमबाट गुगल म्याप्स, गुगल एसिस्ट्यान्टलगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउनेछ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा आउने आगन्तुकहरूले अल-न्यू निसान टेकटनलाई नजिकबाट अवलोकन गर्ने, यसका विशेषता तथा प्रविधिबारे जानकारी लिने तथा निसानका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर प्राप्त गर्नेछन्। टेकटन प्रदर्शनी अवधिभर अगस्ट ११ देखि १६, २०२६ सम्म भृकुटीमण्डपस्थित निसान स्टलमा प्रदर्शन गरिनेछ।