काठमाडौं। तराईका जिल्लामा पछिल्लो केही दिनदेखि उत्पन्न समस्याको समधान वार्ता र संवादमार्फत तत्कालै गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्थाप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई अनुरोध गरेको हो।
एफएनसीसीआईका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै तराई मधेस क्षेत्र विभिन्न समुदायबीचको भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएकाले कुनै पनि प्रकारको हिंसा, झडप वा सामाजिक अशान्तिले कसैको हित नगर्ने जनाएको छ।
यी घटनाले सामाजिक सद्भाव मात्र होइन, सर्वसाधारणको दैनिक जनजीवन, उद्योग व्यापार तथा समग्र आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पार्ने भएकाले मतभेद र असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव रहेको महासंघले उल्लेख गरेको छ।
एफएनसीसीआईले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार र स्थानीय प्रशासनसँग माग गर्दै अफवाह र उत्तेजनाबाट टाढा रहन तथा परम्परादेखि कायम रहेको सामाजिक भाइचारालाई थप सुदृढ बनाउन सबैसँग अपिल गरेको छ।
यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको कप्तानगञ्जपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिले चिन्ता बढाएको जनाएको छ। परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको परिचय बोकेको मुलुक भएकाले त्यसलाई जोगाइराख्न सबै पक्षले संयमता अपनाउनुपर्ने उल्लेख गरेको छ।
परिसंघले कुनै पनि असन्तुष्टि वा विवादको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट सम्भव हुने भन्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ। साथै, अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले लगानी, उद्योग-व्यवसाय र रोजगारी सिर्जनामा प्रतिकूल प्रभाव पार्ने उल्लेख गर्दै आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, बजार बन्द र लुटपाटका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
सीएनआईले उद्योगी, व्यवसायी र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै आफ्ना प्रदेश तथा जिल्ला संघहरूसहित निजी क्षेत्रका अन्य संस्थालाई सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम तथा सद्भाव र्यालीजस्ता शान्तिपूर्ण गतिविधिमा सक्रिय हुन पनि आह्वान गरेको छ।