काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
सांसद वासुदेव घिमिरेले सुनसरी घटनाबाट सुरु भएको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए । उनले कोइलाबास नाका व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गरे ।
सांसद विष्णुबहादुर विश्वकर्माले देश निराशा र आक्रोसको चपेटामा परेको बताउँदै यो सरकारले सहकार्यमार्फत सुव्यवस्थित बाटो अपनाउनुपर्नेमा जोड दिए । सांसद सोमनाथ पोर्तेलले सुनसरीको घटना समाधान गर्न वडास्तरसम्म शान्ति समिति गठन गरिनुपर्ने र घटनाको छानबिन गर्न समिति बनाउनुपर्ने सुझाव दिएका थिए ।
सांसद चन्द्रबहादुर केसीले कर्मचारीतन्त्रलाई चित्त नबुझाइकन सरकार सही मार्गमा चल्न कठिन हुने बताउँदै सरकारलाई कर्मचारीतन्त्रसँग सहकार्य गर्न सुझाव दिए ।
सांसद गोमादेवी तिमिल्सिनाले प्रदेश सरकारलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सुझाव दिए । सांसद रञ्जित कर्ण र सांसद मोहम्मद खालिदले सुनसरी एवं सिरहामा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।