सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

0 Shares

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषद्का सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

त्यसैगरी, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । बैठकमा सहभागी परराष्ट्र मन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको बताए । उनका अनुसार बैठकमा उक्त अवस्थालाई दिगो बनाउन स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।

“यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक संवाद तीव्र बनाउने, सम्भावित संकट तथा भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत–साधनको व्यवस्थापन तथा तालिमलाई थप सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो”, उनले भने ।

बैठकमा अर्थमन्त्री, परराष्ट्र मन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधान सेनापतिलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार