काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सुझाव दिँदै सरकारको खोजी गरेका छन् । सुनसरी घटनालगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्किएका थापाले भने, ‘माननीय सभापतिमार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ, यतिखेर सरकार के गर्दैछ? कहाँ छ?’
सरकारले समन्वय नगरेको बताउँदै सभापति थापाले सरकार बन्दुकको गोलीमा मात्र सीमित हुन नहुने बताउँदै स्टाटसमा मात्र भेटिन नहुने उल्लेख गरे । ‘सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो, लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ, उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ,’ उनले भने ।
उनले सरकारले नबोलाए पनि रास्वपाले प्रमुख दलको हैसियतमा समयमा बैठक बोलाएको भन्दै आभार प्रकट गरे । उनले थपे, ‘यो बेलामा नेपाली कांग्रेस पार्टीको तर्फबाट जे भूमिका निर्वाह गरेका छौँ, जानकारी गराएका छौँ ।’
सभापति थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित पूँजी भएको बताउँदै यसबारे बैठकमा जानकारी गराएको बताए । सिंहदरबारमा जारी बैठकबाट सभापति निस्केका छन् । उनी पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकोले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बैठकबाट निस्किएका हुन् ।