सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकेको छैन ?

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार समस्याको साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप लगाएका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले संकटको अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए ।

उनले भने– ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।’

‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ’ उनले भने ।

रास्वपा सभापति रबि लामिछानेले बैठक राखेकोमा भने उनले धन्यवाद दिए ।’यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन’ उनले भने ।

बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भन्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने धारणा राखे ।

उनले भने ‘हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पङ्क्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ। घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ।’

सम्बन्धित समाचार