बालेन सरकारप्रति आक्रोश बढ्दै

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जनताले अपेक्षा गरे बमोजिम पुरा गर्न नसकेपछि निराशा बढ्न थालेको छ । सरकार गठन भएको एक सय दिनमै एकपछि अर्को गर्दै जनतामा आक्रोश बढ्न थालेको हो ।

बालेन सरकारप्रति आक्रोश पोख्दै मुगुका गणेश नेपालीले आत्मदाह गरेर मृत्यु भएपछि एकपछि अर्को गर्दै आत्मदाह गर्नेको संख्या बढ्न थालेको छ । गत असार २५ गते त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको हो । महानगरका प्रहरीले बाइकमा लक लगाएर दश हजार रुपियाँ जरिवाना गरेपछि आक्रोशित नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेर ज्यान फालेका हुन् ।

सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो । मृतक मण्डलका श्रीमती र दुई छोराछोरी छन् । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउत गत असार २७ गते आफ्नो शरीरमा आगो लगाएका थिए । उपचारकै क्रममा राउतको वीर अस्पतालमा उपचारका क्रममा गत शनिवार साँझ निधन भएको थियो ।

रौतहटमा पेट्रोल छर्केर एक पुरूषले बुधवार आत्मदाहको प्रयास गरेका छन्।गरूडा नगरपालिका ९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले गए राति १ बजेतिर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले जानकारी दिए। उनकाअनुसार सहनीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। यसबारे खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको छ।

काठमाडौँका सुकुम्वासीको घर भत्काएर होल्डिङ सेन्टरमा राखेपछि ९ जनाले ज्यान गुमाएका छन् । होल्डिङ सेन्टरमा बसेका सुकुम्वासीलाई खाना दिएको छैन भने बालबालिकाले पढ्न समेत नपाएको गुनासो गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा बुधवार बोल्दै गुरुङले सुकुम्वासी व्यवस्थापनमा देखिएको कमजोरी र मानवीय संवेदना अभावले गम्भीर प्रश्न उठाएको उनले बताइन्।

‘सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज ९ पुगेको छ,’ उनले भनिन्, ‘१८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीय कमला बलमपाखी, ६८ वर्षका कर्णबहादुर श्रेष्ठ, ३६ वर्षका भेषराज दर्जी, ६६ वर्षीय पार्वती विक, ३९ वर्षीय सुशीला थापा मगर, ७५ वर्षीय रतनदेवी मलहानीदेखि १८ महिनाका उज्ज्वल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनुपर्‍यो। यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु।’ सरकारले विकल्प नदिएर सुकुम्वासीको उठिबास लगाएपछि निराशाका कारण ज्यान गुमाएका हुन् ।

सम्बन्धित समाचार