संविधान संशोधन नागरिक अधिकार विस्तारका लागि हुनुपर्छ : गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकार संकुचित गर्न नभई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्।

‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको बताए। संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो।

“नागरिकहरूले प्राप्त गरेका अधिकारलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरिनुपर्छ,” थापाले भने।

उनले संविधानसभामार्फत जारी भएको संविधानले नै निश्चित समयपछि पुनरावलोकनको परिकल्पना गरेको उल्लेख गरे। संविधानमा कतिपय विषयमा १० वर्षपछि संघीय संसद्ले समीक्षा गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

थापाले संविधान संशोधनको बहस अघि बढाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक सहमति र नागरिक अधिकार संरक्षणलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे।

उनले सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन कठिन परिस्थितिमा संविधान निर्माण भएको स्मरण गर्दै संविधानप्रति व्यापक अपनत्व र स्वामित्व स्थापित गर्न राज्यले विभिन्न आन्दोलनरत पक्षसँग समय–समयमा सहमति र सम्झौता गरेको बताए।

“संविधान निर्माणको क्रममा भएका राजनीतिक सहमति र नागरिकका अधिकारलाई ध्यानमा राखेर संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने।

उनका अनुसार संविधान संशोधन लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएकाले यसलाई अधिकार विस्तार र संस्थागत सुधारको माध्यमका रूपमा अघि बढाउन आवश्यक छ।

सम्बन्धित समाचार