काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको हो। उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको बैंकले जनाएको छ।
वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थी ब्रेल सामग्रीको सहयोगमा अध्ययन गर्दै आएका छन्।
विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण दृष्टिविहीन विद्यार्थीको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग उपलब्ध गराएको हो।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकले दृष्टिविहीन विद्यार्थीलाई गुणस्तरीय ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा JAWS सफ्टवेयरसहित आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४ र २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि पनि फोनेपे नेटवर्कसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले हालै युवा लक्षित बचत खाता ‘सिटिजन्स जेने–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंकिङ सेवा’ सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ।
सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सी–आरएन सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। साथै, ग्राहकले बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद भुक्तानी लिन सक्ने व्यवस्था पनि गरेको छ।
बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।