पेट्रोलियम पदार्थमा घटेको मूल्य आजदेखि लागू, कुन स्थानमा कति घट्यो?

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० कटौती गरिएको छ ।

नयाँ मूल्य सूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४.५० र डिजेल प्रतिलिटर १९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ र डिजेलको मूल्य १९४ तोकिएको छ ।

हवाई इन्धन ९आन्तरिक० को नयाँ मूल्य प्रतिलिटर २२९ कायम भएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब दुई हजार ०६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार