काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।
५३औँ मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७४औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गरे । खेलको अधिकांश समय फ्रान्स हाबी बन्यो ।
यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवैले समान ६ गोल गरेका छन् । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग खेल्ने छ ।
यता, गएराति नै पहिलो खेलमा आइभरीकोस्टलाई २-१ ले पराजित गर्दै नर्वे पनि अन्तिम १६ मा प्रवेश गरेको छ । नर्वेका एन्टोनियो नुसाले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
आइभरीकोस्टका अमाद डियालोले ७४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । ८६औँ मिनेटमा नर्वेका एर्लिङ हालाण्डले गोल गर्दै नतिजा २-१ मा पुर्याए ।
उनको निर्णायक गोलसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो । विश्वकपमा उनले गोल संख्या पाँच पुर्याएका छन् ।