लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ

0 Shares

लुम्बिनी । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।

लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्याङ्कअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७०.८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए नुभयो । यसअनुसार हाल सम्ममा प्रदेशका १२ जिल्लामा २०.८ प्रतिशत मात्र रोपाइँ सकिएको छ । यो तथ्याङ्क गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो ।

जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाल्पामा सात हजार २८७ हेक्टरमध्ये तीन हजार २७९ दशमलव चार हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । त्यसपछि गुल्मीमा २५.७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २४.५ प्रतिशत र बर्दियामा १९.३१ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

दाङमा ३६ हजार २०० हेक्टरमध्ये पाँच हजार ४३० हेक्टरअर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ११.२७ प्रतिशत र रोल्पामा ४.८ प्रतिशत रोपाइँ भएको छ ।

रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यहाँ ६३ हजार ५५० हेक्टरमध्ये २७ हजार ३२६.५ हेक्टर क्षेत्रमा रोपाइ सकिएको छ । कपिलवस्तुमा १५.८ प्रतिशत तथा प्यूठानमा आठ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेशको धान उत्पादनमा सबैभन्दा राम्रो मानिने बर्दिया जिल्लामा १९.३१ प्रतिशतअर्थात् नौ हजार ६८५ हेक्टरमा रोपाइँ सकिएको छ । बर्दियामा ६३ हजार २७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १५० हेक्टरमा धान रोपाइँ हुने गर्दछ ।

यस्तै यस वर्ष सबैभन्दा कम रोपाइँ बाँके जिल्लामा भएको छ । बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८.९ हेक्टरअर्थात् शून्य दशमलव पाँच प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । मनसुन सक्रिय हुँदै गएसँगै धान रोपाइँको गति थप तीव्र भएको छ ।

सम्बन्धित समाचार