काठमाडौँ । कारोबारको चौथो दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । पछिल्ला तीन निरन्तर रूपमा घटिरहेको बजारले आज पनि निरन्तरता पाएको छ।
आज नेप्से परिसूचक ८.५० अङ्कले घटेर २ हजार ६५१.५२ विन्दुमा झरेको छ।त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अङ्कले घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । जसमा कारोबारमा आएका ३३८ कम्पनीको ६४ लाख ८० हजार कित्ता सेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
बुधबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बाहेक अन्य १२ उपसमूहको परिसूचक घटेको छ ।
जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेका छन् ।
सामान्य अङ्कले घटेको नेप्सेकोआज दुई कम्पनीको भने सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य भने ११.०३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स कम्पनीको १२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।