चिया निर्यात अवरोध हटाउन महासंघको आग्रह

0 Shares

काठमाडौं। नेपाली चियाको भारत निर्यातमा देखिएका अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ ले परराष्ट्रमन्त्री शिशिर खनाल सँग कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरेको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बिहीबार परराष्ट्र मन्त्रालय पुगेको टोलीले भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको हो।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक संवाद अघि बढिसकेको जानकारी दिए। उनले समस्याको व्यावहारिक समाधान खोज्न उच्च तहमा छलफल भइरहेको उल्लेख गर्दै भारतीय पक्षबाट प्राप्त संकेतअनुसार चाँडै सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे।

मन्त्री खनालले चियामात्र नभई अन्य नेपाली वस्तुको भारत निर्यातमा बेला–बेलामा देखिने अवरोधको दीर्घकालीन समाधानका लागि पनि भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको बताए।

महासंघ अध्यक्ष श्रेष्ठले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा अर्थतन्त्रसँगै लाखौं नागरिकको जीविकोपार्जन प्रभावित हुने बताए। उनले तत्काल समस्या समाधानका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए।

छलफलमा सहभागी सांसद गणेश पराजुली र रहबर अन्सारी ले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि तत्कालीन तथा दीर्घकालीन दुवै उपाय अवलम्बन गर्नुपर्ने धारणा राखे।

वाणिज्य सचिव कृष्णबहादुर राउत ले पनि प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको र सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल तथा नेपाल चिया उत्पादक संघ का अध्यक्ष आदित्य पराजुली लगायतले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी) ले नेपाली चिया निर्यात थप जटिल बनाएको बताएका थिए।

उनीहरूले नेपाली चियाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको दाबी गर्दै भारतसँगका द्विपक्षीय व्यापार संयन्त्रमा यस विषयलाई प्राथमिकताका साथ उठाउन सरकारसँग आग्रह गरेका छन्।

 

सम्बन्धित समाचार