झलनाथले प्रचण्ड-माधवको राजीनामा मागेपछि नेकपामा तरङ्ग

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको ३६ बुँदे पत्रले पार्टीभित्र तरङ्ग ल्याएको छ । वरिष्ठ नेता खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले एकता टुंगोमा पर्‍याउन नसकेको, पार्टीलाई निर्वाचनपछि गतिहिन बनाएको भन्दै राजीनामा मागेपछि पार्टीभित्र हलचल मच्चिएको हो ।

नेकपाबाट कारबाहीमा परेका पूर्वमन्त्री हरिबोल गजुरेल, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’, महेश्वर दाहाललगायत नेताहरुले झलनाथलाई साथ दिएपछि प्रचण्ड-माधवविरुद्ध उभिएका हुन् । प्रचण्ड-माधवले २७ दलसँग एकता गरेर प्रत्यक्षमा आठ सिट मात्रै जितेपछि पार्टीमा असन्तुष्टी बढ्दै गएको छ ।

धेरै पार्टीसँग एकता गरेर बलियो हुने डंका पिटे पनि प्रत्यक्ष र समानुपातिक गरी १७ सिट ल्याएर नेकपा चौथो शक्ति खुम्चिएको छ । पार्टी एकतापछि बनेको नेकपा सत्तापक्ष हुने कुरै भएन सशक्त प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्न सकेको छैन । संसदमा प्रमुख प्रतिपक्षको रुपमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले जस्ता पुराना दल छन् । त्यसपछि नेकपा तेस्रो प्रतिपक्षको अवस्थामा पुगेको छ ।

संसदमा तीन दलभन्दा प्रभावकारी रुपमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले सशक्त रुपमा भूमिका निर्वाह गरेको छ । सरकारका हरेक गतिविधिमा सबैभन्दा बढी सशक्त सचेत र आलोचना उक्त पार्टी गरेको छ । संसदीय राजनीतिमा नेकपा प्रभावहिन बन्न थालेपछि नेकपामा नेताहरूले प्रश्न गर्न थालेका हुन् ।

नेता खनालले माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको लामो समयसम्म पनि वास्तविक रूपमा एकता हुन नसकेको र गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय बेहोर्नु परेको उल्लेख गर्दै संयोजक र सहसंयोजकलाई मार्ग प्रशस्त गर्न लिखित रूपमा आग्रह गरेका हुन् । गत कात्तिक १९ गते माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको थियो ।

‘तपाईंहरूले यति लामो समयसम्म पार्टी एकीकरण गर्न सक्नु भएको छैन, यसबीचमा मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ, यसको कुनै ठोस विश्लेषण भएको छैन,’ खनालले भनेका छन्, ‘नयाँ परिस्थितिअनुसार नयाँ राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तअघि सारिएका छैनन् ।’ पार्टी कार्यकर्ता र जनतालाई अब कसरी अघि बढ्ने भन्ने प्रष्ट मार्गदर्शनसमेत दिन नसकिएको उनले उल्लेख गरेका छन् ।

‘यी सबै कुराले तपाईंहरूले पार्टी पुनर्गठन गर्न, बनाउन र हाक्न पनि सक्नुभएको देखिएन, यस्तो अवस्थामा पार्टीलाई महाधिवेशनसम्म व्यवस्थित रूपले पुर्‍याउन पनि गाह्रो छ, त्यसो हुँदा संयोजक र सहसंयोजकले विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नुहोस्,’ उनले भने ।

उनले नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिन आग्रह गरेका छन् । अहिलेको कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका रुपमा रुपान्तरण गर्न पनि उनले आग्रह गरेका छन् ।

नेकपा संयोजक प्रचण्ड र माधवले आगामी मंसिरमा हुने महाधिवेशनमा नेतृत्वमा नहुने बचन दिएका छन् । एकता महाधिवेशनबाट नयाँ युवालाई नेतृत्वमा ल्याउने बारम्बार अभिव्यक्ति दिने गरेका छन् । नेताहरु प्रचण्ड-माधवले सजिलै नेतृत्व छाड्छन् भन्नेमा ढुक्क हुन सकेका छैनन् । प्रचण्ड-माधवले नेतृत्व छाडेमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, देव गुरुङ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत दोस्रो तहका नेताहरुबाटै नेतृत्वमा आउने अवस्था देखिएको छ ।

दोस्रो तहका नेतासमेत सर्वसम्मत रुपमा एकले अर्कोलाई सजिलै नेतृत्व स्वीकार गर्न सक्ने अवस्था देखिदैन । प्रचण्ड-माधवसमेत उमेर र लामो समय नेतृत्वमा बसेकाले जनमत फर्काउन सक्ने अवस्था देखिदैन । यो अवस्थामा नेकपा नेतृत्व हस्तान्तरणको अवस्था कस्तो बन्छ, भन्ने विषयलाई माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् ।

प्रचण्डको मुड एमालेसँग तालमेला वा एकता

प्रचण्ड गत मंसिरमा महाधिवेशन गरेर सके आफू नभए आफूअनुकुल नेतृत्व स्थापित गरेर एमालेसँग सके एकता नभए तालमेल गरेर जाने पक्षमा देखिएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले २३ हजार ८३३ मत जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीले यसअघि निर्वाचनमा २४ हजार ६१५ मात्रै मत ल्याएकाले जनमत त्यता नभएको बुझेका छन् ।

माओवादी पृष्ठभूमिका पार्टी र नेता जोडेर बलियो पार्टी बनाउन सकिँदैन भन्ने राम्रोसँग बुझेका छन् । एमालेबाहेक पार्टीसँग एकता गरेर हुँदैन भन्ने २७ दलसँग एकता गरेर परीक्षण गरी सकेका छन् ।

अब, एमालेसँग १४ लाख ४८ हजार ८५४ मत भएकाले नेकपासँग भएको आठ लाख ५ हजार ७७३ मत जोडेर एक ठाउँमा ल्याएमा बलियो शक्ति बनाउन सकिन्छ । एमाले र नेकपाको कुल २२ लाख ५४ हजार ३५७ मतलाई एक ठाउँमा ल्याएमा पहिलो वा दोस्रो शक्ति बनाउन सकिने प्रचण्डको बुझाइ छ । त्यसमा एमालेसमेत त्योभन्दा फरक बुझाइ राखेको देखिँदैन ।

प्रचण्ड मंसिरमा नाम मात्रको महाधिवेशन गरेर एमालेसँग तालमेल वा पार्टी एकता गर्न मुडमा पुगेको नेताहरु बताउँछन् । त्यसका लागि एमालेभित्र नेतृत्वको बहसले कस्तो मोड लिन्छ, त्यसैमा नेकपा नेतृत्वको फैसला हुने देखिएको छ ।

सम्बन्धित समाचार