काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्यामा गिरावट आएको छ । वैशाख महिनाको तुलनामा जेठमा श्रम स्वीकृति लिनेको सङ्ख्या १३ हजारले घटेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार गत वैशाख महिनामा ७४ हजार ४२९ जना नेपालीले श्रम स्वीकृति लिएकोमा जेठ महिनामा यो सङ्ख्या ६१ हजार ७२ मा सीमित भएको छ । जेठमा श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिनेहरूमध्ये ५३ हजार ६ सय ९८ जना पुरुष र ७ हजार ३ सय ७४ जना महिला रहेका छन् । त्यस्तै जेठमा ३१ हजार ७ सय १ जनाले श्रम स्वीकृति लिएका छन् भने २९ हजार ३ सय ७१ जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।
यस अवधिमा सबैभन्दा बढि मलेसियका लागि १५ हजार १ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स का लागि १२ हजार ४ सय ५५ श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । कतारका लागि १० हजार २ सय १० जना र साउदी अरेबियाका लागि ७ हजार ५ सय १९ जनाले श्रम स्वीकृति लिएका हुन् ।