बीमा कम्पनीबाट ५८ अर्ब दाबी भुक्तानी, अझै ५१ अर्ब बाँकी

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म बीमा कम्पनीहरूले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ लाख ५९ हजार ३०२ वटा दाबीबापत ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा २ लाख १८ हजार ९५१ वटा दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

यता, निर्जीवन बीमा कम्पनीहरूले १ लाख २५ हजार ७८२ वटा दाबीबापत २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिमा १ लाख १३ हजार ९३७ वटा दाबीको १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा बीमा कम्पनीहरूबाट कुल ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको देखिएको छ। यसअन्तर्गत १ लाख ७८ हजार ६० वटा दाबी फर्छ्योट हुन बाँकी छन् ।

जीवन बीमा कम्पनीतर्फ ६१ हजार ६४९ वटा दाबीबापत ५ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ४८१ वटा दाबीबापत ४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ १ लाख १६ हजार ४४१ वटा दाबीबापत ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार