काठमाडौं । विश्वप्रसिद्ध राइड-हेलिङ सेवा प्रदायक कम्पनी उबर ले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ । शुक्रबार आयोजित कार्यक्रममार्फत उबरले नेपाली बजारमा प्रवेश गरेको जानकारी दिँदै यसलाई नेपालको डिजिटल यातायात क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको हो । उबरको आगमनसँगै नेपाल एशिया-प्रशान्त क्षेत्रभित्र कम्पनीको ११औँ बजार बनेको छ । साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले पहिलो पटक आफ्नो सेवा विस्तार गरेको बजारका रूपमा नेपाल स्थापित भएको छ । कम्पनीका अनुसार प्रारम्भिक चरणमा चारपाङ्ग्रे सवारीका लागि ‘उबर गो’ र ‘उबर कन्फर्ट’ सेवा सञ्चालनमा ल्याइएको छ भने दुईपाङ्ग्रे सवारी प्रयोगकर्ताका लागि बाइक सेवा समेत उपलब्ध गराइएको छ । यी सेवामार्फत यात्रुले सुरक्षित, सहज र प्रविधिमैत्री यात्रा अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ। यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ ।
उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोनिक टेलर ले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार हुँदै गएको तथा पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको बजारका रूपमा चित्रण गरे । उनले नेपालको प्रवेश उबरको विश्वव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको बताए ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला ले उबरको आगमनले नेपालको पर्यटन उद्योगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज, व्यवस्थित र भरपर्दो यातायात सेवा उपलब्ध हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हुने उनको भनाइ छ ।
उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ । उबरको प्रवेशसँगै नेपालको सार्वजनिक तथा निजी यातायात क्षेत्रमा डिजिटल प्रतिस्पर्धा बढ्ने, यात्रुको सेवा अनुभवमा सुधार आउने तथा पर्यटन र प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।