बचत फिर्ता नपाएपछि राष्ट्र बैंकमा कर्णाली विकास बैंकका ग्राहकको धर्ना

0 Shares

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले सोमबार राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका छन् । नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको गेटमा कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट विरोध र्‍याली शुरु गरेर राष्ट्र बैंक कार्यालयमा घेराउ गरेका छन् । विगत डेढ वर्षदेखि कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको आफ्नो मिहिनेतको कमाइ फिर्ता नपाएपछि उनीहरू आक्रोशित बनेका हुन् ।

बाँके, बर्दिया र दाङका १९ वटा शाखाहरूबाट पीडित ग्राहक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले तत्काल आफ्नो निक्षेप फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि बैंकको व्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार