अमेरिका इरान तनावः होर्मुज स्ट्रेटमा आक्रमण गरिए ठुलो हमला गर्नेछौँ

0 Shares

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ। आईआरजीसीको नौसेना कमान्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘फारसको खाडी वा होर्मुज स्ट्रेटमा इरानका तेल ट्यांकर र व्यापारिक जहाजमा हमला गरियो भने अमेरिकाका अड्डा र सैन्य जहाजविरुद्ध ठुलो आक्रमण गरिने’ चेतावनी दिएको हो।

आईआरजीसीको एयरोस्पेस फोर्सले पनि छुट्टै पोस्टमार्फत ‘यसअघिदेखि नै आफ्ना मिसाइल र ड्रोन अमेरिकी अड्डा र शत्रु जहाजविरुद्ध तैनाथ भइसकेको र आक्रमणका लागि अब आदेशको मात्र पर्खाइ रहेको’ दाबी गरेको छ। यसैबिच वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकाले इरानसँग वार्ताका लागि १४(बुँदे मस्यौदा तयार पारेको छ। यसमा इरानको जवाफ पर्खिरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पत्रकारहरूसँग कुरा गर्दै इरानको प्रतिक्रियाको अपेक्षा गरिएको बताएका थिए।यद्यपि इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाको प्रस्ताव हाल समीक्षाकै क्रममा रहेको छ र उपयुक्त समयमा प्रतिक्रिया दिइने बताएका छन्।

उनले भनेका छन्, ‘हामी अमेरिकाले दिएको समयसीमा स्वीकार गर्दैनौँ। इरानले आफ्नो काम आफ्नै तरिकाले गर्नेछ।’ यसैबिच इरानले स्ट्रेट अफ होर्मुजमा विदेशी जहाज आवागमन व्यवस्थापनका लागि विधेयकको मस्यौदा तयार पारेको छ।

सम्बन्धित समाचार