काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार नाफा, व्यवसाय विस्तार र कर्जाको गुणस्तर तीन वटै पक्षमा सुधार गरेको छ ।
बैंकले चालू आवको चैत मसान्तसम्म २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याइने रकम (इम्पेयरमेन्ट चार्ज) गत वर्षको ३ अर्ब १९ करोडबाट घटेर ३ अर्ब १ करोडमा सीमित हुनुले नाफा बढाएको हो ।
निक्षेप संकलन गत असारदेखि ३ खर्ब ६७ अर्ब ५ करोडबाट बढेर चैत मसान्तमा ४ खर्ब ३ अर्ब ९५ करोड पुगेको छ । कर्जा प्रवाह २ खर्ब ७४ अर्ब ९६ करोडबाट बढेर ३ खर्ब २ अर्ब ९६ करोड पुगेको छ । बैंकको सीडी रेसियो ७७.०४ प्रतिशतमा रहनुले थप कर्जा प्रवाह गर्न पर्याप्त तरलता रहेको देखिन्छ ।
कुल निष्क्रिय कर्जा (ग्रस एनपीएल) गत वर्षको ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा २.०७ प्रतिशतबाट १.३९ प्रतिशतमा आएको छ । जसले बैंकको रिकभरी प्रक्रिया प्रभावकारी रहेको पुष्टि गर्छ । साथै आधार दर (बेस रेट) ६.७२ प्रतिशतबाट घटेर ५.२० प्रतिशतमा झरेकाले ऋणीहरूले सस्तोमा कर्जा पाउने बाटो खुलेको छ ।
प्रतिसेयर आम्दानी ८.०५ रुपैयाँबाट बढेर १०.१५ रुपैयाँ पुगेको छ । इक्विटीमा प्रतिफल ५.२८ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ र पीई रेसियो २१.२४ गुणा रहेको छ ।
हालसम्मको सञ्चित नाफा ५१ करोड ६१ लाख रुपैयाँ भए पनि वितरण योग्य नाफा ११ करोड ४५ लाख मात्र रहेकाले लाभांश क्षमता गत वर्षको ३.१७ प्रतिशतबाट घटेर १.९३ प्रतिशतमा झरेको छ । जुन सतर्क लगानीकर्ताका लागि ध्यान दिनुपर्ने पक्ष हो ।