काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ । नेप्से अघिल्लो दिनको तुलनामा आज १०५ अंक (३.७९ प्रतिशत)ले गिरावट आएको हो । योसँगै आज नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ ।
गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंकले गिरावट आएको छ । नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै बजारमा त्रास उत्पन्न भएको हो ।
बजार उच्च अंकले घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोड भएको छ । आज ७ कम्पनीको मूल्य बढ्दा २६१ को घट्यो ।
हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
यस्तै, ७ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी छन् ।