गगनले राजीनामा दिएपछि ओली-प्रचण्डमाथि दबाब

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाई बहुमत ल्याएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ ।

फागुन २१ गतेको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायत दल सानो आकारमा खुम्चिएका छन् । राप्रपा पाँच सिटमा खुम्चिँदा मधेस केन्द्रीत दल र स-साना कम्युनिष्ट पार्टी शून्य भएका छन् ।

सत्ताको बागडोर सम्हाल्ने स्थितिमा रास्वपा एक्लै पुगेको छ । कांग्रेस, एमाले नेकपालगायत दल सत्ताको खेलभन्दा बाहिर कमजोर प्रतिपक्षीको भूमिकामा पुगेका छन् ।

रास्वपाको झड्का लागेर नेपाली कांग्रेसका सभापति गगन थापाले बिहीबार पदबाट राजीनामा दिएका छन् । पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई थापाले राजीनामा पत्र बुझाएका हुन् ।

गगन पक्षका अधिकांश नेताहरूले सभापतिबाट राजीनामा नदिन दबाब बढाएका थिए । उता पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले थापाले सपभातिबाट राजीनामा दिनुपर्ने मत राखेका थिए ।

सर्लाही ४ बाट थापा पराजित हुनुका साथै पार्टी नराम्रोसँग पराजित भएपछि उनले पदबाट राजीनामा दिएका छन् । थापा छोटो समय सभापतिको नेतृत्व गर्ने अवसर पाएका छन् ।

उनको राजीनामाका विषयमा पार्टीले शुक्रबार बस्ने बैठकमा छलफल गर्ने भएको छ । उनको राजीनामा विषयमा बैठकले के निर्णय गर्छ भन्ने विषयलाई महत्वको साथ हेरिएको छ । थापाले राजीनामा दिनुअघि जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका थिए ।

मधेस केन्द्रीत दलको रुपमा यसअघि उदायको जनमत यस निर्वाचनमा शून्य भएपछि राउतले नैतिकताका आधारमा सन्यास लिने घोषणा गरेका हुन् । यद्यपि, राउतले पार्टी राजनीतिमा भने सक्रिय हुने प्रष्टीकरण दिएका छन् ।

थापाले पदबाट राजीनामा दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द् यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि समेत दबाब बढेको छ । एमाले अध्यक्ष ओली विगत ११ वर्षदेखि पार्टी नेतृत्वमा छन् ।

पार्टीको ७० वर्षे उमेर हद हटाएर निरन्तर नेतृत्व गर्दै आएका छन् । यदि, पार्टीको ७० वर्षे उमेर हद भएको भए अरु नै नेता नेतृत्वमा हुने थिए । तर, ओलीले आफ्नाका लागि उमेर हद हटाएका हुन् । पार्टी पराजित भएर २५ सिटमा खुम्चिएपछि ओलीको पार्टीभित्र ब्यापक आलोचना सुरु भएको छ ।

जेनजी आन्दोलनमा ओलीले ब्यापक दमन गरेकाले जाँचबुझ आयोगले कारबाहीको समेत सिफारिस गरेको छ । यसबारे सरकारले आधिकारिक रुपमा रिर्पोट सार्वजनिक गरेको छैन । एमालेमा ओलीलाई लिएर आलोचना बढ्दै गए पनि पदबाट राजीनामा दिने छाँट देखाएका छैनन् ।

यस्तै, नेकपा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल १७ सिटमा खुम्चिँदा पनि नैतिकताका आधारमा राजीनामा दिने तयारी गरेका छैनन् । पार्टीमा दोस्रो वा तेस्रो पुस्तालाई नेतृत्व हस्तारन्तण गर्ने गृहकार्य थालेका छैनन् ।

यद्यपि, प्रचण्ड र नेपाल दुवै आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने घोषणा गरेका छन् । गगनले राजीनामा दिएपछि प्रचण्ड र नेपालमाथि समेत स्वभाविक रुपमा दबाब बढ्ने बताएको छ ।

यस्तै, जसपा अध्यक्ष यादव २० वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । जसपा शून्य हुँदा समेत यादवले नैतिकताका आधारमा राजीनामा देखिने छाँट देखाएका छैनन् ।

राप्रपाका अध्यक्ष लिङ्देन नेतृत्वमा आएपछि पार्टी इतिहासकै रक्षात्मक अवस्थामा आउँदासमेत प्रेसर महशुस गरेका छैनन् । पार्टी पाँच सिटमा खुम्चिँदा लिङ्देन गौरवका साथ प्रस्तुत हुने गरेका छन् । पुराना र स्थापित दलहरु रुपान्तरण नभए आगामी दिनमा राजनीतिक रुपमा शक्ति हासिल गर्ने सम्भावना कम हुँदै गएको छ ।

सम्बन्धित समाचार