प्रचण्डले भने– यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जाने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्कीसँगको भेटमा संयोज प्रचण्डले जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ भनेर प्रधानमन्त्रीलाई भनेका हुन् ।

प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । प्रचण्ड सहित सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ।’ चुनावमा विजेता नेतालाई बधाई दिँदै कार्कीले पराजितलाई अर्को पटकका लागि शुभकामना दिइन् ।

नेकपाका नेताहरूले पनि निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।

सुरूकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको स्मरण गर्दै प्रचण्डले भने, ‘हामीले सुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ ।’

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर, पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौँ । तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने     विश्वास थियो ।’

सम्बन्धित समाचार