काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा जारी मत गणनामा ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् ।
अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल भन्ने गरिएको नेकपा एमालेले खाता खोल्न सकेको छैन । रास्वपाले काठमाडौँ ६, काठमाडौँ ८ र काठमाडौँ १ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । नेकपाबाट भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।