काठमाडौं । आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भोट हालेको संकेत गरे पनि कारबाही हुने भएको छ । योसँगै निर्वाचनसँग सम्बन्धित २५ वटा कसूरमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको निर्वाचनसँग सम्बधित तीन वटा कानुन छन् । जसमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आयोग ऐन २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ छन् । तीनै कानुनमा गरेर ३५ वटा कसूरमा कारबाही हुने व्यवस्था रहेको छ । यी हुन् कसूर ठहर हुने व्यवस्था:
१, उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्था कसूर छ । निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ ।
२, निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा सजाय हुने व्यवस्था छ । यसमा जरिवाना नबुझाउनेलाई उम्मेदवार हुन रोक्नेसम्मको सजायको व्यवस्था रहेको छ ।
३, कसैले पनि उम्मेदवारी दिँदा झुट्टा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन हुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
४, कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन पाउँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
यसैअन्तर्गत, कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न पाउँदैन। यस्तो कार्य गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
५, मतपत्रको दुरुपयोग गर्न गर्न पाइँदैन । मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
६, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने कानुनी व्यवस्था छ। यस्तो कसूरमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
७, मतदानको अधिकारविना मतदान गर्न हुँदैन। मतदानको अधिकारविना मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
८, कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन । यस्तो गरेमा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुी व्यवस्था रहेको छ ।
९, मत सङ्केत सार्वजनिक गर्न पाइँदैन । मत सङ्केत सार्वजनिक गर्नेलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नछन् ।
१०, कसैले पनि मतदान गर्दा मतदान सम्बन्धी प्रचलित संघीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गर्न हुँदैन । प्रक्रिया उल्लंघन गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
११, मतपत्रबाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न पाइँदैन । यस्तो कार्य गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
१२, मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्न हुँदैन । मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
१३, कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यस्तो गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
२४, कुनै पनि गैरनेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउँदैन । अनधिकृत रुपमा मतदान गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
१५, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश पाइँदैन । यस्तो कार्य गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था रहेको छ ।
१६, मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न पनि पाइँदैन । मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
१७, गलत ढङ्गले मतगणना गर्न नहुने कानुनी व्यवस्था रहेको छ। यस्तो गरेमा निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम कारबाही हुन्छ ।
१८, सुरक्षाको लागि खटिएको सुरक्षाकर्मीबाहेक अन्यले हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न हुँदैन । यस्तो कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
१९, मतदान हुने दिन कसैले पनि शान्ति भङ्ग गर्न हुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
२०, निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्न हुँदैन । यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
२१, नगद वा जिन्सी दिन वा लिन नहुने कानुनी व्यवस्था छ । चुनावको वेला नगद वा जिन्सी दिने वा लिने कार्य गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
२२, निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीले कुनै लिखत, कागजात, अभिलेख वा विवरण झुट्टा हो भन्ने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो लिखत, कागजात वा अभिलेखलाई कानुन बमोजिमको प्रयोजनका लागि मान्यता दिन हुँदैन । गलत लिखतलाई मान्यता दिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुन्छ ।
२३, निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी वा सुरक्षाकर्मी वा आयोगबाट खटाइएको अनुगमनकर्ता आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन हुँदैन । पदीय जिम्मेबारीबाट पन्छिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुन्छ ।
२४, कसैले पनि कानुन बमोजिमबाहेक निर्वाचनको गोपनीता भंग गर्न हुँदैन । कानुन बमोजिमबाहेक निर्वाचनको गोपनीता भङ्ग गर्ने कार्य गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
२५, कसैले पनि यस ऐनमा अन्यत्र उल्लिखित कार्यका अतिरिक्त निर्वाचन सम्बन्धी कार्यमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको कार्य गर्न वा गराउन हुँदैन । यस्तो कार्य गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।