काठमाडौँ । कोरोना भाइरसको महामारीका बेला विश्वभरका मानिसलाई खोप उपलब्ध गराउने एस्ट्राजेनेका नामक कम्पनीले आफ्नो कोरोना भ्याक्सिन फिर्ता मागेको छ । कम्पनीले विश्वभरबाट आफ्नो भ्याक्सजेभरिया भ्याक्सिन फिर्ता मगाउने बताएको हो ।
एस्ट्राजेनेकाद्वारा लाइसेन्स प्राप्त कोभिशिल्ड भ्याक्सिन नेपालमा पनि कोरोनाबाट बचाउनकालागि दिइएको थियो। भारत तथा नेपालमा दिइएको कोभिशिल्ड खोप पनि त्यही सूत्रमा बनेको छ जसबाट भ्याक्सजेवरिया खोप बनाइन्छ। कोभिशिल्ड भारतमा सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको थियो । यद्धपि अहिलेसम्म भारतमा कोरोनाको खोप फिर्ता गर्ने निर्णय भइसकेको छैन ।
द टेलिग्राफको रिपोर्टका अनुसार एस्ट्राजेनकाले खोपको अपडेटेड संस्करण उपलब्ध भएकोले खोपको पुरानो स्टक फिर्ता लिने निर्णय गरेको दाबी गरेको छ । प्रतिवेदनका अनुसार कम्पनीले भ्याक्सजेभरिया खोप मार्च ५ मा नै फिर्ता मगाउने निर्णय गरेको थियो तर यो आदेश मार्च ७ देखि लागू भएको हो ।
ब्रिटिश-स्वीडिश औषधि कम्पनी एस्ट्राजेनेकाले यो कदम कोभिड भ्याक्सिनको साइड इफेक्ट देखा परेको खबर बाहिरिएपछि लिएको हो । यस खोपका कारण केही व्यक्तिमा थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम रोगको लक्षण देखिएको छ । यस रोगमा मानिसको रगत जम्न थाल्छ ।
कम्पनी विरुद्ध मुद्दा दायर
एस्ट्राजेनेका कम्पनीले कोभिड भ्याक्सिन सम्बन्धित कैयौं मुद्दाहरूको सामना गरिरहेको छ। कोभिड भ्याक्सिन लिएपछि धेरैले ज्यान गुमाएको कम्पनीमाथि आरोप रहेको छ ।
जेमी स्कट नामका एक व्यक्तिले एस्ट्राजेनेकाविरुद्ध उजुरी दिएका हुन् । भ्याक्सिन लगाएपछि उनको शरीरमा रगत जम्ने र मस्तिष्कमा रगत बग्ने समस्या भएको स्कटको आरोप छ । जसले गर्दा उनको मस्तिष्कमा क्षति पुगेको थियो । कम्पनीविरुद्ध यस्ता ५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । कम्पनीले अदालतमा लिखित कागजातमा पनि कोरोना भ्याक्सिनले केही दुर्लभ अवस्थामा साइड इफेक्ट देखाउन सक्ने कुरा स्वीकार गरिसकेको छ।
भारतमा पनि चिन्ता बढ्यो
एस्ट्राजेनेकाले युरोप र विश्वका अन्य देशबाट कोरोना भ्याक्सिन फिर्ता मगाउने निर्णय गरेको छ । यद्धपि भारतको सीरम इन्स्टिच्युटले अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन। भारतमा पनि कोभिशिल्डलाई लिएर चिन्ता व्यक्त गरिएको छ । यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । खोपको सुरक्षाका बारेमा चिन्ता माग गर्दै मुद्दा दायर गरिएको हो। सर्वोच्च अदालतले पनि सुनुवाइकालागि तयार भए पनि मिति भने तय गरिएको छैन ।
एजेन्सीको सहयोगमा ।