हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

0 Shares

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका ३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ । जहाँ सडक सञ्जालले छोएको छैन ।

सर्केगाड गाउँपालिकामा तीनभन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताए ।

त्यस्तै, चङ्खेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन् । जसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन् । उक्त गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदलयात्रा गर्दा पूरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन ।

अन्य रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ जना मतदाता छन् ।

अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन् । सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता छन् । तर यी तिनै गाउँमा यतिबेला १५÷२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै रहेका छन् ।

यता अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १५९ मतदाता छन् । यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ ।

केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । उनका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ ।

जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन् ।

त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताए ।

सम्बन्धित समाचार