काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको हो ।
रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको थियो । जसका लागि आयोगले पार्टी सभापति रवि लामिछानेको नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो ।
कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
प्रहरीले एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बाँकी आरोपीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यता, आफ्नो पार्टीको झण्डा जलाएको भन्दै एमाले भातृ संगठन अनेरास्ववियूले शुक्रबार साँझ काठमाडौंमा रास्वपाका वरिष्ठ नेता बालेन साहको पुत्ला दहन गरी विरोध गरेको थियो ।