रुख दाबी गर्दै गगन पक्ष निर्वाचन आयोग जाने, विशेष महाधिवेशनको लिखित जानकारी ३ दिनअघि नै दर्ता

0 Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोगमा जाँदैछ । बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्य समिति चयन गरेको थियो ।

अब पार्टीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताएका छन् । यसअघि मंगलबार नै विशेष महाधिवेशन पक्षले पार्टीको विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको लिखित जानकारी आयोगमा गराइसकेको थियो ।

त्यसको भोलिपल्ट शेरबहादुर देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा निष्कासनमा परेको विवरण आयोगमा पठाएको थियो । निर्वाचन आयोगमा विशेष महाधिवेशनको जानकारीमात्र नभएर प्रतिनिधिहरुको हस्ताक्षर र नागरिकतासहितको सनाखत समेत पेश भइसकेको छ ।

अब विघटित कार्य समिति होइन, विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई आयोगले मान्यता दिने दाबी सभापति थापाले गरिसकेका छन् । थापा पक्षले आवश्यक पर्दा २४८८ भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सनाखत गराउन निर्वाचन आयोगमा परेड खेलाउन समेत तयार रहेको जनाएको छ ।

सम्बन्धित समाचार