काठमाडौं । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरले पार्टी सभापति शेरबहादुर देउवा र कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई निम्तो पठाउने भएको छ ।
यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन सभापति देउवा र कार्यबहाक खड्कालाई निम्तो गर्ने भएको हो । यसअघि महामन्त्री थापाले पार्टी सभापति देउवालाई निम्तो पठाउने बताएका थिए ।
विशेष महाधिवेशन व्यवस्थापन समितिका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिने भएको हो । यसका लागि शनिबार चिठी पठाउने तयारी भइरहेको छ ।
त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सबै पदाधिकारी र सबै प्रदेशका पार्टी सभापतिलाई निम्तो गरिने भएको छ ।
यो विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रुपमा हुने छन् । कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये यो ५४ प्रतिशतभन्दा बढी हो ।