कोहलपुरमा युवाको मौलिक उद्यम : रमेश चौधरीको मटका चिया

0 Shares

कोहलपुर । परम्पराको स्वादलाई आधुनिक उद्यमशीलतासँग जोड्दै कोहलपुरका एक युवा उद्यमीले स्थानीय बजारमा नयाँ पहिचान बनाएका छन्। कोहलपुर निवासी रमेश चौधरी पछिल्लो समय आफ्नो मौलिक मटका चिया व्यवसाय मार्फत युवामाझ चर्चाको केन्द्र बनेका छन्।

स्नातक तहको अध्ययनसँगै भविष्यका लागि सुरक्षित जागिर खोज्नुभन्दा स्वरोजगार रोज्ने साहसी निर्णय गरेका चौधरीले आत्मविश्वास, मिहिनेत र मौलिक सोचका साथ आफ्नै व्यवसाय सुरु गरेका हुन्। उनले परम्परागत माटोको भाँडो (मटका) मा पकाइने चियालाई नयाँ स्वाद, सुगन्ध र पहिचानसहित बजारमा ल्याएका छन्, जसले उपभोक्ताको ध्यान तान्न सफल भएको छ।

कोहलपुर महोत्सव–२०८२ मा चौधरीले राखेको मटका चिया स्टल विशेष आकर्षणको केन्द्र बन्यो। माटोको भाँडोमा पकाइने चियाले प्राकृतिक स्वाद मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि फाइदा दिने विश्वासका कारण उनका स्टलमा चियाप्रेमीहरूको उल्लेख्य भीड देखिन्थ्यो। परम्परागत स्वादको चुस्कीले धेरैलाई बाल्यकालको सम्झना दिलाएको थियो।

आफ्नो उद्यमबारे रमेश चौधरी भन्छन्,
“हामी पुरानो संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तालाई आकर्षित गर्न चाहन्छौं। मटका चिया केवल व्यापार होइन, हाम्रो संस्कृति र पहिचान हो।”

उनको यो प्रयासले ‘स्वदेशमै केही गर्न सकिन्छ’ भन्ने सन्देश स्पष्ट रूपमा प्रवाह गरिरहेको छ। स्थानीयहरूको भनाइमा, रमेश चौधरीको मटका चिया उद्यमले अन्य युवालाई पनि स्वरोजगार, उद्यमशीलता र मौलिक सोचतर्फ प्रेरित गरिरहेको छ।

परम्परा, स्वाद र आत्मनिर्भरताको सुन्दर संगम बनेको रमेश चौधरीको मटका चिया आज कोहलपुरमा मात्र होइन, युवाको सम्भावनाको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

सम्बन्धित समाचार