काठमाडौं । एलिजा गौतम डेढ महिनामै जनादेश पार्टी छोडेर प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को उपाध्यक्ष बनेकी छिन् ।
पत्रकार ऋषी धमलाकी पत्नी गौतमले डेढ महिनामै जनादेश पार्टी छोडेकी हुन् । बुधबार उनी आम जनता पार्टी (आजपा) मा प्रवेश गर्दै केन्द्रीय समिति बैठकमा भाग लिन पुगिन् ।
स्रोतका अनुसार आजपाले उनलाई उपाध्यक्ष नै बनाएको छ । गत कात्तिकमा मात्रै रमणकुमार कर्णको नेतृत्वमा गठन भएको जनादेश पार्टीमा एलिजा उपाध्यक्ष बनेको चर्चा थियो । तर, त्यसले औपचारिकता पाएको थिएन । स्रोतका अनुसार बारम्बार ‘जिब्रो चिप्लिएका’ कारण उनलाई उपाध्यक्ष नबनाउने निस्कर्षमा पार्टी नेतृत्व पुगेपछि उनी असन्तुष्ट बनेकी थिइन् । सो पार्टीमा अहिले सभापतिबाहेक अन्य कोही पनि पदाधिकारी छैनन् । एलिजा केन्द्रीय सदस्य मात्रै थिइन् ।
जनादेश पार्टी र आजपाले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एकल चुनावचिन्ह ‘मोबाइल’ प्रयोग गर्ने गरी दर्ता गराएका थिए । यो सुरुमा जनादेशको चुनावचिन्ह थियो । चुनावी सहकार्यको सहमतिसँगै एलिजा भने फड्को हानेर आजपामा भित्रिन पुगिन्। आज आजपाको केन्द्रीय कमिटी वैठकमा उनलाई टिका, माला र खादा लगाएर स्वागत गरियो ।