काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले गत मंसिर १४ गते सामाजिक सञ्जालमा आफ्नो र काठमाडौँका मेयर बालेन्द्र (बालेन) साहको फोटो राखेर सार्वजनिक गरे । मन्त्री कुलमानले फोटो मात्रै राखेनन् क्याम्पसनको रूपमा देश बनाउने अभियानमा हामीसँगै छौँ भन्ने शब्द समेत उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा भएकाले बेला कुलमान र बालेन एउटै पार्टीमा हुने गरी संवाद अघि बढाएका थिए । कुलमानले बालनेलाई एउटै पार्टीमा ल्याउन नसकेपछि गत मंसिर १७ गते उज्यालो नेपाल पार्टी प्रज्ञा भवन कमलादीमा घोषणा गरे । कुलमानले उज्यालो पार्टीमा आबद्ध नभएको भन्दै आफै प्रमुख अतिथि भएर आफ्नो कुरा राखे । नयाँ पार्टी घोषणा कार्यक्रममा बाहिर बेच्न मिल्ने कलाकार रिमा विश्वकर्मा बाहेक अनुहार एक जना पनि देखिएनन् । कुलमानको पार्टी घोषणामा उल्लेख्य सहभागिता भए पनि पार्टीमा बाहिर देखाउने फेस नभएपछि उनलाई दबाब परेको थियो ।

रबिले सहकारी ठगीमा आफ्नो भागको २ करोड ४७ लाख रुपियाँ धरौटी बुझाएर जेलबाट निस्किएका छन् । छविलाल जोशीले तीन करोड बुझाएर छुटेका छन् । रबि धरौटी बुझाएर निस्किए पनि सहकारी ठगिएको मुद्दा अदालत चलिरहेको छ । जेल बाहिरैबाट रबी सहकारी ठगिएको बारेमा मुद्दा लड्ने भएका छन् । सहकारी ठगीमा बदनाम भए पनि आमजनताले राजनीतिको आशा र भरोसाको केन्द्रको रूपमा रविलाई हेरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत दलले पार्टीमा युवाको प्रवेश नगराएर आफै पुराना नेताले रजाइँ गर्न थालेपछि रबि जस्ता नेतालाई बोकेर जनताले पुराना दललाई चुनावबाट ठेगान लगाउने सोचेका छन् ।
रबि जेलबाट छुटेपछि महानगर मेयर साहले सोमबार राती ६ घण्टा लामो संवाद गरेका छन् । रबि र बालेनले लामो संवाद मात्रै गरेनन् एउटै गाडीमा चढेर हामी एक ठाउँमा छौ भन्ने खालको सन्देश समेत दिएका छन् । रबि र बालनेलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन(दुई दाजु)भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई .’

लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहकै म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। असिम पनि रास्वपाका नेता हुन्। वार्ता सकेर रवि र बालेन एउटै गाडीमा निस्केका थिए। रवि र बालेनबीच सोमबार बिहान पनि छलफल भएको थियो।
शाहको कमलपोखरीस्थित कार्यालयमा सोमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चलेको थियो। उनीहरूबिच सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ। यो वार्तापछि दुवै जना सहकार्य गर्ने विषयमा सहमत भएका छन्। निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबिच सघन छलफल भएको हो।
६ घण्टाको बसाई मा उनीहरूबिच सामूहिक र एक्ला–एक्लै पनि वार्ता भएको छ। अन्तिममा उनीहरूले मिलेर जाने र एक–अर्कालाई साथ दिने निष्कर्ष निकालेका छलफलमा सहभागी नेताहरूले बताएका छन्। रवि जेलबाट छुटेपछि उनीहरूबिच हिजो दोस्रो पटक वार्ता भएको हो। रवि नख्खु कारागारमा हुँदा पनि पनि उनीहरूबिच विभिन्न ढंगले वार्ता भइरहेको थियो।
केही नेता रवि र बालेनको एउटै पार्टी बनाउने कोसिसमा लागेका छन्। नभए पनि आगामी चुनावमा तालमेल गरेर जाने तयारी छ। वार्ता पनि एउटै कारबाट बाहिरिनुले पनि उनीहरू एकता उन्मुख भएको सन्देश दिएको छ।
रवि र वालेनबीचको यो वार्ताले पुराना पार्टीहरूलाई पनि दबाब सिर्जना गरेको छ। रास्वपा उपसभापति डिपी अर्यालले दुई नेताबिच भएको छलफलको विस्तृत प्रगतिबारे आज सार्वजनिक गरिने बताएका छन्। पछिल्लो समय रबी, बालेन, कुलमान मात्रै होइन धरानका मेयर हर्क साम्पाङलाई समेत एउटै पार्टीमा ल्याएर शक्तिशाली पार्टी बनाउने योजना बनाएका छन् ।
तर, रास्वपाका नेता गणेश कार्कीले वैकल्पिक शक्ति भनिने सबै दललाई एक ठाउँमा ल्याउने प्रयास गरिएको जानकारी दिए । ‘सभापति जेलबाट छुट्नुभयो । अब कुलमान जी, बालेन जी हर्क जी सबै नेता र सबै पक्षका भेटघाट हुन्छ’ उनले भने, ‘पुराना दलको विकल्प दिने गरी शक्तिशाली वैकल्पिक पार्टी बनाउने योजना छ ।’ तर, रबि, बालेन, कुलमान हर्क लगायत व्यक्तिसँग सहकार्य गर्ने फाइनल भइ नसकेको कार्कीले बताए ।
पार्टी भन्दा व्यक्तिको पपुलारिटीलाई केन्द्रमा राखेका रबि, बालेन, कुलमान हर्कहरुले आगामी दिन कसरी सहकार्य गर्छन् र पार्टीको नीति कस्तो बनाउँछन् त्यो भावी दिनले देखाउने विश्लेषकहरु बताउँछन् ।