ज्योति विकास बैंकको गैरजिम्मेवार कदम, चरित्र हत्या गरेको आरोप

0 Shares

काठमाडौं । बाँके जिल्लाको कोहलपुर ६ मा रहेको सेवाग्राहीको घर लिलामीसम्बन्धी विषयलाई ज्योति विकास बैंकको गैरजिम्मेवार व्यवहार र लापरबाही कदम चालेको छ । व्यवसायीले आफ्नो चरित्र हत्या भएको आरोप लगाउँदै निर्माण व्यवसायी गौरव रावलले पत्रकार सम्मेलन गरेका छन् ।

उनले घर लिलामीसम्बन्धी विषय कानुनी प्रक्रिया र छलफलमै रहेको अवस्थामा बैंकसँग निकट व्यक्तिहरू वा स्रोतमार्फत भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरिनु गम्भीर आपत्तिजनक भएको भन्दै खण्डन गरिएको छ । यसले बैंकको व्यावसायिक आचारसंहिता र गोपनीयताको गम्भीर उल्लंघन भएको उनको आरोप छ ।

गौरवले बैंकसँग कर्जासम्बन्धी विषयमा नियमित संवाद र समाधानको प्रयास भइरहेका बेला नियतपूर्वक भिडियो सार्वजनिक गरी सामाजिक रुपमा बदनाम गराउने षड्यन्त्र गरिएको बताए । बैंककै कमजोरी र असक्षमताको परिणाम आफूले सामाजिक तथा व्यावसायिक रुपमा भोग्नु परेको उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा उनले ज्योति विकास बैंकले आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दै सामाजिक सञ्जालको प्रयोग गरी दबाब सिर्जना गर्न खोजेको आरोप लगाए । उनले यस्ता कार्यले बैंकिङ प्रणालीप्रति जनविश्वास घटाउने चेतावनी दिए ।

निर्माण व्यवसायी गौरवले तथ्यहीन र भ्रामक सामग्री तुरुन्त हटाउन, दोषी पहिचान गरी कारबाही गर्न र आफूलाई भएको मानसिक तथा सामाजिक क्षतिको जिम्मेवारी बैंकले लिनुपर्ने माग गरेका छन् । अन्यथा, कानुनी बाटो अपनाउन बाध्य हुने उनले चेतावनी दिए ।

यस विषयमा ज्योति विकास बैंकको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । यसले बैंकको भूमिकामाथि थप प्रश्न उठाएको छ ।

सम्बन्धित समाचार